News Ticker

Menu

संघीय संसद्को संयुक्त बैठकः कार्य सञ्चालन नियमावली मस्यौदा प्रस्तुत

काठमाडौँ– संघीय संसद्को आजको संयुक्त बैठकमा संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ प्रस्तुत भएको छ ।  संघीय संसद्को आजको बैठकमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले सो प्रतिवेदन प्रस्तुत गरेका थिए  । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिको आह्वानमा आज संघीय संसद्को संयुक्त बैठक बसेको हो । 
मस्यौदा नियमावलीमा राष्ट्रपतिबाट संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आह्वान गरेमा महासचिवले बैठकको मिति, समय र स्थानको जानकारी सदनलाई दिइने उल्लेख छ । संयुक्त बैठकको कार्यसूची सभामुखको निर्देशनअनुसार महासचिवले तय गरी एक दिनअघि सदस्य र संसदीय दलको कार्यालयलाई उपलब्ध गराइनेछ । 
बैठकको अध्यक्षतामा सभामुखले गर्नु हुनेछ । संयुक्त बैठकमा राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेका विधेयकको हकमा सोसम्बन्धी सन्देशको विवरण र प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकको हकमा त्यस्ता सन्देशको विवरण सदस्यलाई कम्तीमा एक दिन अगावै उपलब्ध गराइनेछ । 
संयुक्त बैठकमा संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले दस्तखत गरी जनमत संग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी महासचिवलाई प्रस्तावको सूचना दिन सक्नेछन् । 
संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीन गरी १५ सदस्य रहने व्यवस्था मस्यौदामा गरिएको छ । समितिले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदको नियुक्तिका लागि प्रस्ताव गरिएका नामका सम्बन्धमा सुनुवाइ हुनेछ । 
प्रतिनिधिसभा नियमावली मस्यौदाका लागि सांसद् पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदाका लागि सांसद परशुराम मेघी गुरुङको संयोजकत्वमा अलगअलग समिति गठन भएका थिए । सम्बन्धित संसद्मा ती समितिले प्रस्तुत गरेका प्रतिवेदन पारित भइसकेका छन् । 
संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ माथि यही असार ८ गते ४ बजे बस्ने संघीय संसद्मा छलफल हुनेछ । 

Share This:

  • To add an Emoticons Show Icons
  • To add code Use [pre]code here[/pre]
  • To add an Image Use [img]IMAGE-URL-HERE[/img]
  • To add Youtube video just paste a video link like http://www.youtube.com/watch?v=0x_gnfpL3RM